Logo

सरकारको कामबाट भ्रष्टहरू अत्तालिएका छन् ः प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।

शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताएका हुन् ।

‘‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष ग¥यौँ । त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ’’ प्रधानमन्त्रीले भने, ‘‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन । यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन् । सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन् । राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाई हामी सचेत हुन जरूरी छ ।’’

‘‘विकासमा राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन, विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प चाहिन्छ’’ प्रधानमन्त्रीले भने, ‘‘अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ । कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौँ । उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ । कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौं । यतातर्फ सरकारको ध्यान गएको छ ।’’

‘‘विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएका छौँ । राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवद्र्धन गर्न तत्पर छ । विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’’ उनले भने, ‘‘यसपटक राष्ट्र र जनताको पक्षमा राम्रो मात्र गर्ने, नराम्रो गर्दै नगर्ने नीति लिएको छु । विदेशमा रहेका लाखौं नेपाली सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएका छन् । सेवाग्राही कार्यालयका लामालामा लाइन हटेका छन् । यस वर्ष समयअघि नै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको अधिकार दिने नीति व्यवहारमा कार्यान्वयन हुँदैछ ।’’

प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए । उनले भने, ‘‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ । भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ । सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं ।’’

‘‘यसपटकको भारत भ्रमण देशको स्वाधीनता, विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सहमति भएका छन् । इतिहासमा पहिलोपटक देशको शीर ठाडो पारेर फर्किएको छु’’ प्रधानमन्त्रीले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो । यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो । २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ । १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेगरि सम्झौता भएको छ । बैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको छ । अन्य महत्वपूर्ण परियोजनामा पनि सहमति भएको छ। यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो ।’’

 

प्रतिक्रिया दिनुहोस्