Logo

सरकारको गतिविधि हेर्दा ०८४ सम्म कुर्ने अवस्था छैन्: अध्यक्ष ओली



काठमाडौँ, ४ माघ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकारको गतिविधिले देश बर्बाद हुँदै गएको र देश जोगाउनका लागि ०८४ सम्म कुर्न नसकिने अवस्थासमेत आउन सक्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीनिकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरेका थिए ।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताएका छन् ।

उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनु पर्नेछ । हामी मिसन ०८४ मा छौँ । यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्