Logo

सरकारको जेठ ७ गते वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने



काठमाडौँ, २८ वैशाख । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ ७ गते सार्वजनिक गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान गरेपछि सरकारले नीति तथा कार्यक्रमको मिति तय गरेको हो । स्थानीय तह निर्वाचनका कारण प्रभावित भएको संसदको बजेट अधिवेशन विगतको समय भन्दा यस वर्ष ढिला गरी आह्वान भएको हो ।

जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम सार्वजनिक गरिन्छ भने प्रिबजेट माथिको छलफल हुने गर्छ । यो वर्ष भने प्रिबजेटमाथिको छलफलको समय छोटो बनाउने तयारी संघीय संसद सचिवालयको छ । अधिवेशनको पहिलो दिन जेठ ३ गते अर्थमन्त्री जनार्दन शर्माले बजेटको सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस गर्ने र जेठ ४ र ५ गते प्रि–बजेटमाथि छलफल गराउने तयारी संसद सचिवालयको छ ।

बजेट प्रस्तुत गर्नुअघि अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षणसम्बन्धी प्रस्ताव पेस गर्नेछन् । संवैधानिक प्रावधानानुसार उनैले जेठ १५ गते बजेट सार्वजनिक गर्नेछन् । सरकारले जेठ अन्तिम साता अथवा असारको पहिलो साता बजेट र बजेट आश्रित विधेयकहरु संसदमा निर्णयार्थ गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्