काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् ।
बाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले सरकारले हल्ला फैलाउने काम मात्रै गरेको बताएका हुन् ।
ओलीले अहिलेको सत्ता गठबन्धनमा उस्तैउस्तै दलहरु रहेकाले गठबन्धन कायम गर्न चाहिरहेको पनि बताए । “सरकारको तागत झुट बोल्ने, अफवाह फैलाउने देखियो,” ओलीले भने, “उस्तैउस्तै मिलेकाले, गठबन्धन भएकाले गठबन्धन कायम राख्न चाहन्छन् ।”
ओलीले एमालेको नीति प्रष्ट रहेको बताए । उनले एमालेको नजर सरकारतिर नरहेको बताए । भने, “हामी सरकारतिर हेर्दैनौँ । मिसन ०८४ मा जान्छौँ । हाम्रा नीतिहरु स्पष्ट छन् ।”
ओलीले अहिलेको सत्ता गठबन्धन एमालेविरुद्ध हल्ला फैलाउन लागिपरेको पनि बताए । उनले आफूहरुलाई बदनाम गराउने कदम चालिएको बताए । भने, “हल्ला गर्छन के के न भनेर । उहाँहरुलाई बदनाम गर्न मन लाग्छ । एमालेविरुद्ध हल्ला फैलाउन मन लाग्छ । हामी स्पष्ट हुनुपर्छ ।”







