Logo

सरकारको नीति तथा कार्यक्रममाथि ओलीकाे अभिव्यक्ति गन्थन मात्रै: थापा



काठमाडौँ, १४ जेष्ठ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् ।

स्थानीय तह निर्वाचनमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थनमात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गरेका छन् ।

शनिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार बेहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमती पनि नभएको जिकिर समेत गरेका छन् ।

निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाई थियो । उनले विपक्षी दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राखेका थिए ।

महामन्त्री थापाले भने, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भईसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो-यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरुलाई भने-प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमती व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्