काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रधानमन्त्री केपी ओली भए पनि नीतिगत नेतृत्व आफ्नो पार्टीले गरिरहेको बताउनु भएको छ । कांग्रेसले द्वन्द्वमा रहेको तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर हतियार बिसाउन लगाएको उल्लेख गर्दै सिटौलाले यस्तो बताउनु भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले प्रधानमन्त्री केपी ओलीले राज्य सञ्चालनको नेतृत्व गर्नुभएको होला तर, समग्रमा आमनेपाली जनतालाई अगाडि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरेको बताउनु भएको हो ।
सबै राजनीतिक शक्तिलाई एकताको सूत्रमा आबद्ध गरेर बलियो नेपाल निर्माण कांग्रेसको चाहना रहेको भन्दै उहाँले सबै राजनीतिक शक्तिहरूलाई सहमति सहकार्य र एकताको सूत्रमा आबद्ध गरेर बलियो नेपाल निर्माण गर्न चाहेको बताउनु भयो । बिपी कोइराला, गणेशमानजीको चाहना पनि नेपाल बलियो बनाउने रहेको बताउनु भयो ।