Logo

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार



काठमाडौँ, २ चैत । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम बनाउन गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार परेको छ ।

शुक्रबार बसेको कार्यदलको बैठकले सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम तयार पारेको नेकपा (एमाले)का उपाध्यक्ष तथा कार्यदलका संयोजक विष्णुप्रसाद पौडेलले बताए । उनले आजको बैठकले सुझावसहित मस्यौदालाई पूर्णता दिएको जानकारी दिए ।

उनले कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमको मस्यौदा आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेको बताए । उनले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकता दिएको जानकारी दिए ।

संयोजक पौडेलले राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकांक्षा पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय पनि समावेश गरिएको बताए । उनले कार्यदलले कार्यक्रमको मस्यौदालाई अन्तिम रुप दिएको भन्दै आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरुले गर्ने बताएका हुन् ।

उनले भने, ‘‘सरकारमा सहभागी पाँच राजनीतिक दलको तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी थियो । कार्यक्रम बनाउन निरन्तर छलफलमा थियौं । न्यूनतम साझा कार्यक्रम तयार भएको छ । आजै कार्यदलले प्रमुख नेताहरुलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा हस्तान्तरण गर्छौं । साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास समृद्धिक, अर्थतन्त्रका चुनौती समाधान गर्ने, आम मानिसहरुमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने र समग्रतामा राष्ट्रलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने, समृद्ध राष्ट्र सुखी नेपालको आकाश पूरा गर्ने र देशलाई समाजवादतर्फ अगाडि बढाउने विषय समावेश छन् । हामीले अन्तिम रुप दिएका छौं । आवश्यक संशोधन गर्न परे शीर्ष नेताहरुले गर्नुहुन्छ ।’’

उनले साझा कार्यक्रममा सुशासनलाई पनि प्राथमिकता दिएको बताए । कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपसभापति डा.स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जनता समाजवादी पार्टी (जसपा)बाट नेताद्वय राजेन्द्र श्रेष्ठ र मनीष सुमन सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्