Logo

सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न सकेन: उपाध्यक्ष शाक्य



काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेकी छन् ।

बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र नपरेको दाबी गरेकी हुन् ।

“सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन”, उनले भन्नि ।

उनले आफू उद्योगमन्त्री भएकाले बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताएकी छन् । उनले नेपालमा प्राकृतिक रेशाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरुलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गरेकी थिइन् ।

विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेशाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले उद्योगको विकासका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेकी छन् ।

हस्तकला महासङ्घ उद्योगी व्यवसायीकोे अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उनले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्