Logo

‘सरकारको भर नपर्नुस्, आउनुस् फोहोर व्यवस्थापनको भिजन एमालेसँग छ’



काठमाडौँ, २९ साउन । नेकपा एमालेका सासंद योगेशकुमार भट्टराईले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन)शाहलाई फोहोर व्यवस्थापनको ठोस प्रस्तावसहित एमालेसँग आउन अपिल गरेका छन् ।

उनले एमाले पूर्ण क्षमताका साथ सहयोग गर्न तयार रहेको बताएका हुन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले उक्त प्रस्ताव गरेका हुन् । ‘काठमाडौँका मेयर बालेनलाई भन्छु, आउनुहोस् ठोस प्रस्तावसहित । नेकपा एमालेसँग त्यो भिजन छ, दृष्टिकोण छ । नेकपा एमाले पूर्ण क्षमताका साथ तपाईंलाई सहयोग गर्न तयार छ,’ सांसद भट्टराईले भने, ‘यदि तपाईं यो सरकारको भर पर्नुभयो भने तपाईं असफल हुने निश्चित छ । काठमाडौँको बर्बादी हुने छ ।’

त्यस्तै, सांसद भट्टराईले देउवा सरकारसँग फोहोर व्यवस्थापन गर्ने हुत्ती नरहेकोले ध्यानाकर्षण पनि नगर्ने बताएका छन् ।

‘काठमाडौँको फोहोर १४ दिनसम्म नउठेको इतिहास थियो। यो पटक ७१ दिन भयो । प्रधानमन्त्रीले कुनै पहल गर्नु भएको छैन, सम्बन्धित मन्त्री बेखबर छन् । काठमाडौँको फोहोरले झाडापखाला, हैजा निम्त्याएको छ,’ सांसद भट्टराईले भने, ‘यो सरकारले कुनै पहल कदमी गर्न सक्दैन । यो सरकारको हुत्ती पनी छैन । त्यसैले म यो सरकारलाई ध्यानाकार्षण पनि गर्दिनँ ।’

प्रतिक्रिया दिनुहोस्