Logo

सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन सक्दैन: केसी



काठमाडौँ, ३२ साउन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतोविना विमानस्थलबाट सुन बाहिरिन नसक्ने जिकिर गरेका छन् ।

बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा सांसद केसीले गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरूको मिलेमतोविना बाहिरिन नसक्ने दाबी गरेका हुन् ।

उनले दुई वटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘एअरपोर्टमा एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेरिन्छ । सत्तामा बसेका शक्ति सम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एअरपोर्टबाट बाहिर निस्किन्छ रु सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी न्यायिक आयोग गठन हुनुपर्छ ।’

सांसद केसीले संसद् बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रूपमा परिणत हुँदै गएको पनि बताए । उनले भने, ‘प्रतिपक्षले संसद् अवरोध गर्ने अनि सत्तापक्षलाई गाली गरेर के हुन्छ? संसद्लाई जहिले पनि बन्धक राख्ने कुरा प्रतिपक्षको निरन्तर स्वभावकै रूपमा परिणत भएको छ । पहिला ५९ दिन संसद् बन्द भएको इतिहास छ । अहिले पनि त्यस्तै चल्दैछ । हामी पनि प्रतिपक्षमा बसेको हो, हामीले कति दिन संसद् चल्न दियौँ? त्यस करणले संसद् बन्दको विकल्पमा अरू बाटो खोल्नुपर्छ । उहाँहरूले उठाउनुभएको कतिपय विषयहरूमा हाम्रो पनि सहमत छ । सुन तस्करी प्रकरणमा जाँचबुझ ऐन २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतका न्यायाधीश, पूर्वन्यायाधीशहरू राखेर समिति बनाऔँ ।’

प्रतिक्रिया दिनुहोस्