काठमाडौँ, २८ असार । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैरजिम्मेवारीका कारण संघीय संसद्का उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए ।
उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने जिकिर गर्दै प्रतिनिभिसभामा चार वर्ष र राष्ट्रियसभामा करिब चार महिनायता पदपूर्ति हुन नसक्नु दुःखको विषय भएको उल्लेख गरे ।
सदस्य गौतमले उपाध्यक्षबिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने बताए । उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए ।
करिब चार महिनायता राष्ट्रियसभाका चार समितिमध्ये तीनमा सभापति नरहेको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष, कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । उनले सरकार र राजनीतिक दलहरूको लापरबाहीप्रति महिला सदस्यहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।







