
काठमाडौँ, ६ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा सभापति लामिछानेले वर्तमान सरकारको सुशासन आफ्ना पार्टीका मानिसहरू नपरुन्जेलमात्रै सीमित रहेको बताएका हुन् ।
आफ्ना मान्छेहरू पर्न थालेपछि सुनपानी छर्केर चोख्याउने काम भएको उनको आरोप थियो । लामिछानेले सुन प्रकरणमा सत्तारूढ दलका नेताहरूको नाम आउनेबित्तिकै सरकार सुस्ताएको बताए ।
उनले भने, ‘सरकारले भनिरहेको सुशासन कहाँसम्मको हो? आफ्नो ढोकासम्म त्यो आरोप नआइपुग्दासम्मको सुशासनको कुरा हो कि साँच्चिकै सुशासनको कुरा हो? भुटानी शरणार्थी प्रकरणमा जति पनि प्रहरी अधिकारी काम गरिरहेका थिए, तिनको सरुवा भयो । सुशासनको यो प्रमाण पर्याप्त छैन र सरकारमाथि शङ्का गर्न? ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज पत्र सबै हेरेका, पैसा दिएर किनेका मानिसहरू र कर्मचारीहरू जहाजको सिटबाट समातेर थुनिए, निर्णयकर्तालाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यही हो र? सुन प्रकरणमा सत्तारूढ दलका नेताहरूको नाम आउनेबित्तिकै सरकार सुस्तायो ।’







