काठमाडौँ, २२ मंसिर । सरकारले पुसदेखि आयात प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ ।
राष्ट्रिय ढुकुटीमा वैदेशिक मुद्रा सञ्चिति द्रुत गतिमा घट्न थालेसँगै सरकारले वैशाखयता लगाएका आयात प्रतिबन्धहरू पुस १ गतेदेखि खुला गर्ने तयारी गरिरहँदा ‘सजगता अपनाउनुपर्ने’ अवस्था कायम रहेको केन्द्रीय ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार देश भित्रिने र बाहिरिने रकम अर्थात् शोधनान्तर १४ महिनासम्म घाटामा रहेको थियो भने गत आर्थिक वर्षमा दुई अर्ब डलरभन्दा बढी वैदेशिक विनिमय सञ्चिति घटेको थियो ।
‘यस आर्थिक वर्षको असोज महिनाको तथ्याङ्क सार्वजनिक हुँदा १४ महिनापछि पहिलो पटक १२ अर्ब रुपैयाँले शोधनान्तर बचत भएको अवस्था छ,’ प्रवक्ता भट्ट भन्छन् ।
हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले ८ महिनाको हाराहारीमा वस्तु तथा सेवाको आयात धान्न सक्ने अवस्था रहेको राष्ट्र ब्याङ्कले जनाएको छ जुन पछिल्लो आर्थिक वर्षमा ६ महिना हाराहारीमा पुगेको थियो ।







