Logo

सरकारद्वारा मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान



काठमाडौँ, २८ साउन । सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो ।

‘मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ-आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, कार्यदलका संयोजक डा भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिकरुपले अफ्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको गृहमन्त्रालयले जनाएको छ । अझै धेरै पीडितहरु आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसक्ने अबस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्