काठमाडौँ, ९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनका दलहरूलाई सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने बताएको छ ।
बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारमा सहभागी हुने दलहरूलाई सम्मानजनक सहभागिता गराउनुपर्ने बताएका हुन् ।
उनले चुनावअघिको नै गठबन्धन बिउँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँच वर्ष नै टिकाएर लैजान पार्टीले भूमिका खेल्ने बताए ।
गठबन्धनलाई पाँच वर्ष टिकाएर नागरिकको अपेक्षाअनुसारको सुविधा दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने तथा सरकारलाई पनि झकझकाउने निर्णय बैठकले गरेको नेता भण्डारीको भनाइ छ ।
उनले भने, ‘अहिलेको समसामयिक परिस्थति र राजनीतिबारे छलफल भयो । साथै सरकार गठनको प्रक्रियाबारे पनि छलफल भएको छ । हाम्रो दल पनि १० दलीय गठबन्धनमा सामेल छ । अहिले फेरि चुनावअघिकै गठबन्धन सुरु भएको छ । त्यति बेला नेपाली कांग्रेसको गठबन्धनमा लोसपा पनि सहभागी थियो । त्यही गठबन्धनकै सरकार बन्नुपर्ने हो । गठबन्धनको घटक भएकाले हामी जिम्मेवार भएर अघि बढ्नुपर्छ । यो गठबन्धनलाई पाँच वर्ष टिकाएर नागरिकको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानुनी राज्य स्थापना गर्न पार्टी लाग्ने तथा सरकारलाई पनि झकझकाउने निर्णय भएको छ ।’