Logo

सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्ति चलखेल र षड्यन्त्रमा लागे: खनाल



काठमाडौँ, २६ फागुन । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ गठबन्धनको सरकारलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् ।

विज्ञप्ति निकालेर नेता खनालले कांग्रेस(माओवादीबीचको गठबन्धन टुटेर अहिलेको सरकार बन्दा आमजनतामा आशाको नयाँ सञ्चार भएको दाबी गरेका हुन् । मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएको उनको दाबी छ ।

तर नयाँ गठबन्धनको सरकार बनेकै दिनदेखि यसलाई विफल पार्न षड्यन्त्र भइरहेको उनको दाबी छ । ‘सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’, उनले लेखेका छन् ।

उनले नयाँ गठबन्धन भत्काउन विभिन्न पार्टीमा तानाबाना बुनिँदै गरेको दाबी गरेका छन् । चुनौती बढे पनि यसले वर्तमान गठबन्धनलाई अझ एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने उनको तर्क छ । ‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन्’,उनले भनेका छन्, ‘यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्