काठमाडौँ, १५ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् ।
सभापति लामिछानेले शुक्रवार सांसदको शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका हुन् ।
उनले आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताले मत दिएको उल्लेख गर्दै त्यो विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरूको आपत्ति रहेको बताए । उनले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्ने स्पष्ट पारेका थिए ।
उनले भने, ‘हामीलाई मतदाताले देशको भ्रष्टाचार अन्त्यका लागि मत दिएका हुन् । जसमा हामीले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको छानबिन हुनुपर्छ भनेका थियौँ । सरकारले त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेन्डासहित एउटा म्यान्डेड दिएर पठाएको हो । यसमा गम्भीर समीक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’
उनले आफूहरूले देशमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे फेरि मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताए ।







