काठमाडौँ, १० असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले सरकारले आफ्नै लगानीमा पूर्व-पश्चिम रेलमार्ग बनाउन नसक्ने बताएका छन् ।
सोमवार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजसँगको छलफलमा बोल्दै मन्त्री राईले यस्तो बताएका हुन् ।
उनले केपी ओली सरकारले विना अध्ययन रेलमार्ग बनाउने योजना बनाएको आरोप लगाए । अहिले नेपालमा सञ्चालनमा रहेको जनकपुर-कुर्था रेल घाटामा रहेकोले पूर्व-पश्चिम रेल सञ्चालनले राज्यलाई फाइदा हुने पक्षको काम गर्नुपर्ने बताए ।
मन्त्री राईले कुनै विदेशी दातृ निकायले रेल पूर्वाधार बनाइदिने र सञ्चालन गरेको खण्डमा मात्र पूर्व-पश्चिम रेल प्राथमिकताका आधारमा बनाउन सकिने बताए । नेपालले भारतको कोलकत्ताबाट श्रीलङ्काको व्यापारिक नाकामा आफ्नो झण्डाको पानी जहाज सञ्चालनको अनुमति भने दिन सक्ने उनको भनाइ छ ।







