Logo

सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको छ: महामन्त्री शर्मा



काठमाडौ, १९ असोज । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सरकारले कैयौँ विषयमा गल्ती गरिरहेको टिप्पणी गरेका छन् ।

जघन्य अपराधमा संलग्न मान्छेहरूलाई आममाफी दिएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले आइन्दा त्यस्ता गल्ती नगर्न पनि सचेत गराएका हुन् ।

शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले भने, ‘सरकारले अत्यन्त जघन्य अपराधमा संलग्न मान्छेलाई आममाफीको प्रक्रियाबाट छोड्दैछ । त्यसप्रति पनि म ध्यानाकर्षण गराउन चाहन्छु । विद्यालय बनाएर मात्रै, कानुन बनाएर मात्रै समाज सुन्दर बन्दैन । त्यसको कार्यान्वयन गर्न सरकार कति गम्भीर बन्छ, त्यसलाई कति गम्भीर रूपमा लिन्छ भन्ने कुराले अर्थ राख्छ । म अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौँ निर्णयहरूमा कमजोरी गरिरहेको छ । सरकारले गल्ती नगरोस् ।’

महामन्त्री शर्माले आन्दोलनरत शिक्षकहरूको सबै मागलाई पूरा हुने गरी यो विधेयक परिमार्जन गर्न पनि सरकारलाई दबाब दिए । उनले सरकारले संसदमा पेस गरेको यो विधेयकलाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्न सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने बताए ।

महामन्त्री शर्माले विगतमा गरिएको गल्तीबाट पाठ सिकेर सरकारले विद्यालय शिक्षा विधेयक परिमार्जन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्