काठमाडौँ, २० असार । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामलाई सकारात्मकरूपमा लिनुपर्ने बताएका छन् ।
आज पत्रकारसँग कुराकानी गर्दै उनले सरकारका कामलाई नकारात्मक दृष्टिले मात्रै हेर्न नहुने बताएका हुन् ।
उनले भने, “सरकारले जति काम गरेको छ त्यसलाई सकारात्मकरूपमा लिनुको सट्टा जति गरे पनि नकारात्मक हेर्ने दृष्टिकोणबाहेक केही पनि होइन ।” भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा प्रहरीले स्वच्छ र स्वतन्त्र अनुसन्धान गर्ने उनले बताए ।
उनले भने, “स्वच्छ, स्वतन्त्र अनुसन्धानको आधारमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यो विन्दुसम्म सरकार पुग्छ ।” यस विषयमा अरु ढङ्गले सोच्नुपर्ने आवश्यकता नरहेको उनको भनाइ थियो ।
बर्सात सुरु हुने समयमा विपद्को तयारी के छ भन्ने पत्रकारको प्रश्नमा उनले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनअन्तर्गत तयारीको कामलाई व्यवस्थित र प्रभावकारी बनाइएको बताएका थिए । उनले भने, “हामीलाई सामान, स्रोत, प्रविधिको अझै पनि केही अपर्याप्तता रहेको छ । तैपनि हामीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सन्दर्भमा यसलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार लागेको छ ।”
फरक प्रसङ्गमा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्रीले सरकार बनाउन भारतले सहयोग गरेको भन्ने कुरा सत्य नरहेको बताए । बाहिर आएका समाचार हेर्दा पनि प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने नदेखिएको उल्लेख गर्दै उनले नेपालको प्रधानमन्त्री नेपालको संसद्ले निर्वाचित गर्ने बताएका हुन् ।







