विराटनगर, ७ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर-१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उनले भने, “सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।”
मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रष्ट पारेका थिए ।
उनले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने विचार राखेका थिए ।
मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताए ।
सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उनले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताएका थिए ।