भोजपुर, २३ पुस । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले सरकार जनतालाई न्यूनतम सुविधा दिन नभई कमिसन धन्दामा लागेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले सरकारले चाहे स्वास्थ्य बिमा गरेका बिमितले एक हप्तामै अस्पतालबाट उपचार पाउन सक्ने बताएका हुन् । तर कमिसन धन्दामा लागेका कारण सरकारले यो काम यति चाँडै नगर्ने दाबी उनले गरेका थिए ।
‘मुलुकभर जुन ठाउँमा चाहे सरकारी होस्, चाहे निजी होस् । हरेक अस्पतालमा विमितहरुले उपचार पाउनेगरी उपचार सम्भव छ । यो काम एक हप्ताभित्र गर्न सम्भव छ । तर राज्य गर्दैन’, उनले भने, ‘ठूलाठूला डिल कसरी गर्ने? टेण्डर खोल्दा आफूले भनेका कम्पनीलाई कसरी पार्ने? कति अर्बको टेण्डर आफ्नो पालामा खोलिसक्ने? माथिदेखि तलसम्म सेटिङ मिलाएर पैसा कसरी खाने यत्ति छ ।’
उनले अहिले शीर्ष नेता मात्रै नभई अख्तियारका हाकिम र राष्ट्र बैंकका गभर्नरदेखि लिएर सरकारी उच्चपदस्थ कर्मचारीले अर्बौँको सम्पत्ति विदेशमा राखेकोको दाबी गरे । दुबईमा त धेरै नेपालीको बंगलासमेत रहेको उनको भनाइ छ ।