विराटनगर, ५ भाद्र । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले सरकार देश र जनताका निम्ति इमान्दार देखिनुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयको पक्षमा विगत पाँच वर्ष सरकारले खेर फालेको उल्लेख गरेका थिए ।
सरकारले जनताका आवश्यकता र चाहनालाई नजरअन्दाज गर्न नहुने भन्दै उनले संविधान जारी पछि बनेको सरकारले तीन वर्ष भित्रमा जनताका लागि कानुन बनाई सक्नु बताएका हुन् ।
सङ्घीय सरकारले प्रदेश सरकारलाई जनसम्पर्क कार्यालय जस्तो व्यवहार गरेको उल्लेख गर्दै नेता सिटौलाले जबसम्म प्रदेश सरकारको आफ्नो शासन र प्रशासन हुँदैन तबसम्म सङ्घीयताको मर्म जनताले नबुझ्ने बताए । कोशी प्रदेश सरकारको सम्बन्धमा प्रमुख प्रतिपक्ष दलले सरकार गिराउने खेलमा लाग्नुभन्दा पनि सशक्त भूमिका निर्वाह गरी जनताका पक्षमा काम गर्नुपर्ने उनले सुझाव दिए ।







