काठमाडौँ, २८ चैत । सरकारले प्रमुख प्रशासनिक निकायमा थुप्रिएको फोहोर उठाउन आवश्यक पहल गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ महानगर प्रमुखले नीतिगत व्यवस्थाविपरीत फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेकोमा त्यसलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल अघि बढाउने निर्णय गरेको हो ।
‘काठमाडौँ उपत्यकाको फोहर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिने र आवश्यक पहल अघि बढाउने निर्णय भएको छ ।’ सरकारकी प्रवक्तासमेत रहेकी संचार मन्त्री रेखा शर्माले भनिन् ।
महानगरले तीन दिनदेखि सिंहदरबार, शीतल निवास, बालुवाटारको फोहोर संकलन नगर्न निर्देशन दिएको छ। केन्द्र सरकारले आफूलाई आवश्यक समन्वय नगरेको भन्दै महानगर प्रमुख बालेन साहले फोहोर संकलनमा रोक लगाएका हुन् ।
बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषदको पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय पनि गरेको उनले जानकारी दिइन् ।