काठमाडौँ, २ वैशाख । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् ।
नेपाली कांग्रेस मकवानपुर-काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारेका थिए ।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराए । सरकारले राम्रो काम गर्दै गए ३/४ महिनाभित्रै मुलुक सम्हालिँदै जाने उनको भनाइ छ ।
महामन्त्री थापाले भने, ‘हामी अहिले सरकारमा छौं । तपाईं हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौँ । यहाँ बसेर हामीले परिणाम दिने हो। यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौँ भने अबको ३/४ महिना भित्रमा देश ठिक ढंगले फेरि सम्हालिँदै जान्छ ।’
महामन्त्री थापाले २०८० सालमा नेपाली कांग्रेसलाई सुद्धिकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली कांग्रेसको नीति अधिवेशन हुने तयारी भइरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘मेरो खाली तपाईहरुलाई यति मात्रै आग्रह हो-कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भइरहेको छ । त्यसको प्रभाव मकवानपुर काँग्रेसलाई नपरोस् ।’







