काठमाडौँ, २ भाद्र । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले राम्रा काम गर्दा केही सत्तारुढ दलसहित प्रतिपक्षी दलहरु चिढिएको दाबी गरेका छन् ।
काठमाडौँमा पार्टीको उपत्यका विशेष प्रदेश समिति बैठकमा पुनले सुशासन र शुद्धीकरणको कामलाई अघि बढाएका कारण प्रचण्ड नेतृत्वको सरकारलाई नागरिकले मन पराएको तर केही सत्तारुढ र प्रतिपक्षी दल भने चिढिएको बताएका हुन् ।
ललिता निवासको सरकारी जग्गा हिनाहिना प्रकरणको छानबिन अघि बढ्दै गरेका बेला एमालेले बहुमत जुटाउन प्रयास गरेको तर, तत्काल सत्तारुढ दलका शीर्ष नेता बसेर त्यस्तो प्रयास विफल पारिएको समेत पुनले दाबी गरेका थिए ।
आफ्ना अध्यक्ष प्रचण्डमा परिस्थितिअनुसार अघि र पछि हिँड्न सक्ने कौशलता रहेकै कारण ३३ सिटसहित पार्टी तेस्रो शक्तिमा खुम्चिए पनि देशको नेतृत्व गर्ने मौका आएको उनले बताए ।
पुनले कांग्रेससहितका दलसँगको सहकार्यमा सरकार बनेको भए पनि राष्ट्रिय मुद्धाहरुमा प्रमुख प्रतिपक्षीसहितका दलसँग हातेमालो गरेर अघि बढ्ने नीतिमा आफूहरु रहेको उल्लेख गरेका थिए ।
उपमहासचिव पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अहिले जनतामा लोकप्रिय भएको पनि बताए ।







