मुगु, २७ माघ । रारा क्षेत्र घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न पुग्ने पर्यटकको सुरक्षाका लागि रारामा पर्यटक प्रहरी राख्न पर्यटन विभाग र छायाँनाथ रारा नगरपालिकाबीच सम्झौता भएको हो ।
पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा पर्यटक प्रहरी रहने निश्चित भएको छ । सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाे पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोस्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख गरेको छ ।
छायाँनाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने छ । रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जङ्गलका बीचमा रहेका यी ठाउँमा यहाँ आएका पर्यटक एक्लै घुम्न डराउने गर्छन् । पर्यटक प्रहरी राखेपछि सुरक्षित महसूस गरी पर्यटकले स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने छ ।
पर्यटक प्रहरीलाई राख्ने ठाउँको छनोट, घर, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरू लागिरहेको छायँनाथ राराका मेयर विष्णुकुमार भामले बताउनुभयो ।