Logo

सरकारले ल्याएको बजेट लक्ष्यभन्दा बाहिरको: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौँ, १८ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताएका छन् ।

सरकारले ल्याएको बजेटको लक्ष्यभन्दा बाहिर भएको पनि उनले टिप्पणी गरे। अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उनको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उनको भनाइ छ । उनले भने, “पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।”

खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताए । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उनले बताए । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उनले बताए ।

सरकारले कयौँ योजना थपेको छ कतिपय छाडेको पूर्वमन्त्री पाण्डेले बताए । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाहे हुने उनले बताए । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने उनको भनाई छ ।

‘तपाईले केही पैसा बाँड्ने कुरा गर्नुहोला चुनावमा प्रभाव पार्नुहोला । तर, अर्को सालमा जाँदा त टाउकोमा हात लगाएर बस्नुपर्ने र अर्थतन्त्र धराशायी भयो भनेर श्रीलंकाको जस्तो दशा हामीले देख्न नपरोस् । त्यस्तै खालको परिस्थिती उत्पन्न नहोस्’ उनको भनाइ छ।

सरकारले वृद्धभत्ताको उमेर घटाएपछि त्यसको जस एमालेले पाउने दाबी गरे। चुनावी प्रतिबद्धताअनुसार वृद्धभत्ता ५ हजार किन पुर्याएको भन्दै प्रश्नसमेत गरे।

प्रतिक्रिया दिनुहोस्