Logo

सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ वटा स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने



काठमाडौं, १ कार्तिक । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ वटा स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सङ्कटग्रस्त घोषणा गरिएका २० जिल्लाका ७१ वटा स्थानीय तहलाई क्षतिको आँकलन अनुरुप राहत रकम वितरण गर्ने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो ।

प्राधिकरणका सहसचिव अधिकारीले स्थानीय तहलाई क्षति भएको आधारमा तीन क्षेत्रमा वर्गीकरण गरिएको बताउनुभयो । जस अनुसार बढी क्षतिग्रस्त ९ स्थानीय तहलाई एक करोडका दरले, दोस्रो तहका १२ स्थानीय तहलाई ७५ लाख र तेस्रो तहमा वर्गीकरण भएका ५० स्थानीय तहलाई ५० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय बैठकले गरेको सहसिचव अधिकारीले बताउनुभयो ।

यस्तै, विपद् तथा खोज उद्धार कार्यलाई थप प्रभावकारी बनाउन थप सङ्ख्यामा हेलिकप्टर तथा आवश्यक उपकरण व्यवस्थापनका लागि राष्ट्रिय परिषद् बैठकमा सिफारिस गर्ने निर्णय पनि भएको सहसचिव अधिकारीले बताउनुभयो ।

बैठकले मनसुन सुरु भएपछि विपद्जन्य घटनामा परी निधन भएका परिवारहरूको १ जना सदस्यको बिमा सरकारले गर्ने गरी सिफारिस पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्