काठमाडौँ, १३ पुस । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन् ।
बुधवार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन् ।
उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए ।
अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा-एउटा इँटा थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । देशको अर्थतन्त्र नियन्त्रणभन्दा बाहिर नभए पनि समस्या भने रहेको उनको भनाइ छ ।
उनले भने, ‘देशको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन तर अर्थतन्त्रमा समस्या छन् । यदि मिस ह्यान्डल गर्यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्न सक्छ । सावधानीपूर्वक हिँड्यौँ भने र ठिक ढङ्गले कदम चाल्दै गयौँ भने अर्थतन्त्र ठिक ढङ्गमा आउन सक्ने देखिएको छ । अर्थ मन्त्रालयभित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ, त्यो मैले महसुस गरेको छु ।’







