Logo

सरकारले स्वदेशमै विद्युत् खपत बढाउने योजना ल्याउँछ: बस्नेत



काठमाडौँ, २५ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले सरकारले स्वदेशमै विद्युत् खपत बढाउने स्पष्ट योजना ल्याउने बताएका छन् ।

विद्युत् नियमन आयोगको चौथो वार्षिकोत्सव समारोहमा उनले स्वदेशमा विद्युत् खपत क्षमता अभिवृद्धि गरिने बताए ।

“पहिला हाम्रो आवश्यकता पूरा गर्न महत्व दिन्छौँ, घरायसी प्रयोजन, औद्योगिक क्षेत्र, यातायात क्षेत्रमा खपत बढाउन योजनाबद्ध ढङ्गले अगाडि बढ्छौँ”, उनले भने । शतप्रतिशत क्षेत्रमा विद्युतीकरण गर्ने सरकारको नीति रहेको जनाउँदै विद्युतीकरणका लागि सार्वजनिक, निजी र सामुदायिक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताएका छन् ।

विद्युत् क्षेत्रलाई व्यवस्थित बनाउन विद्युत् विधेयक सङ्घीय संसद्मा पेस गर्ने तयारी भइरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले कसरी उत्पादन वृद्धि गर्ने, वितरण र व्यापारका लागि पूर्वाधारको व्यवस्था गर्ने भन्ने विषय विधेयकमा समेटिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्