Logo

सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने राप्रपाको निर्णय



काठमाडौं, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध भण्डाफोर कार्यक्रम गर्ने भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले जनजीविकाका महत्वपूर्ण विषयलाई वर्तमान सरकारले सम्बोधन गर्न नसकेको भन्दै सातवटै प्रदेशमा विरोधसभा लगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन नसकेको, अन्तर्राष्ट्रिय सम्बन्धलाई अन्तुलित राख्न नसकेको, देश भुूराजनीतिक चक्रव्यूमा फस्ने खतरा बढेको राप्रपाको निश्कर्ष छ । कांग्रेस–एमालेसहितको दुई तिहाइ बहुमतको नजिकको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना भइरहेको अवस्थामा राप्रपाले भण्डाफोर गर्ने निर्णय लिएको हो ।

राप्रपाले सहकारी पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर्न माग समेत गरेको छ । यसैबीच, राप्रपाले आफ्ना नेता तथा कार्यकर्ताका लागि सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी गरेको छ ।

कार्यविधिमा पार्टीका सदस्यले प्रतिस्पर्धी पार्टी व्यक्ति वा समूहले शेयर गरेको सामग्री शेयर, लाइक र रिट्विट गर्न नहुने उल्लेख छ । त्यस्तै नकारात्मक शब्द, भाव र गलत सन्देश जाने फोटो पोस्ट गर्न नहुने लगायत बिषय कार्यविधिमा राखिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्