Logo

सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी दिने घोषणा



इरान, ३० फागुन । इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ ।

प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन् ।

सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका छन् ।

प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो । उनीहरु सबै सरकार विरोधी प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुलाई कहिले हिरासतमुक्त गरिन्छ भन्नेबारे भने एकिन गरिएको छैन ।

गत सेप्टेम्बरमा इरानको नैतिक प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्यु भएपछि इरानमा सरकार विरोधी प्रदर्शन चर्किएको हो । सन् १९७९ मा भएको इरान क्रान्तिपछि इरानमा यति ठूलो सरकारविरोधी प्रदर्शन पहिलो पटक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्