काठमाडौं, १७ वैशाख । आज २९औं दिन पनि शिक्षकहरुले आन्दोलन जारी राख्ने भएका छन् । सरकारसँग लगातार छलफल र संवाद पनि चलिरहेपनि शिक्षकहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएका हुन् ।
मंगलबार मध्यरातमा आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घ र सरकारबीच वार्ता भएको थियो । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसँगै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी भएका थिए । यता महासङ्घका तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी थिए ।
झण्डै दुई घण्टा चलेको वार्ता सकारात्मक भएको भनिएपनि टुंगिएको भने छैन ।
आज सामाजिक सञ्जामार्फत महासङ्घकाबाट अध्यक्ष सुवेदीले सरकारसँग वार्ता चलिरहे पनि आन्दोलन भने जारी रहने बताएका छन् । ‘सरकार पक्षसँग लगातार छलफल र संवाद पनि चलिरहेको छ । संवादमा हुने साथीहरु डटेर मागमुद्दामा लडिरहनु भएको छ । उनले भनेका छन्, ‘हाम्रो आन्दोलन जारी छ ।’
शिक्षक सङ्घ सङ्गठनहरूले विभिन्न माग राखी गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । जसका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुदेखि नै पठनपाठन प्रभावित भएको छ ।
शान्तिपूर्वक तरिकाले आन्दोलन गरेर शिक्षा ऐनको माग गरिरहेका शिक्षकहरुले आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहरा हानेको थियो । त्यसैगरी लाठीचार्ज समेत गरेको थियो, जसबाट ६३ जना शिक्षक कर्मचारी र एक पत्रकार घाइते भएका थिए ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खाेज्दै ढुङ्गामुढा गरेपछि प्रहरीले पानीको फोहोरा हान्ने अवस्था आएकाे थियाे र एकाएक बानेश्वर क्षेत्र अशान्त बनेकाे थियाे । तर त्यसपछि भने शान्तिपूर्वक नै आन्दोलन जारी छ ।