Logo

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ: शर्मा



काठमाडौँ, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एकद्वार प्रणालीअनुसार लैजान नीति बनाउन लागेको उल्लेख गरेकी हुन् । त्यसका लागि मन्त्रालयले आवश्यक प्रक्रिया थालेको उनको भनाइ छ ।

“सरकारले फजुल खर्च कटौती गर्न लागेको छ”, मन्त्री शर्माले भन्नि । विज्ञापनको व्यवस्थापनले न्यूनतम पारिश्रमिक नपाउने समस्या हल हुने उनले विश्वास व्यक्त गरेकी छन् । उनले भन्नि, “जाजरकोटमा विज्ञापन खोल्नु छ, त्यहाँको बाटो बनाउने विज्ञापन काठमाडौँको पत्रिकामा छापिन्छ । त्यो पत्रिका लिएर विज्ञापनको पैसा लिने तरिका बेठिक छ, यसरी हुँदैन । यसलाई रोक्न आश्यक परे नियमावलीमा संशोधन गरौँ ।”

पत्रकारिता लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै मन्त्री शर्माले सामूहिक छलफल र निष्कर्षबाट सञ्चारजगत्का समस्या समाधान खोज्न आग्रह गरेकी हुन् । उनले भन्नि, “पत्रकारिता क्षेत्रमा रहरले प्रवेश गर्ने र कालान्तरमा पछुताउनु पर्ने अवस्था राम्रो हैन । यो लोकतन्त्रका लागि नराम्रो हो ।” नेपाल पत्रकार महासङ्घको काठमाडौँ शाखाको भवन निर्माणका लागि जग्गाका विषयमा सहजीकरण गर्न सो अवसरमा उनले प्रतिबद्धता व्यक्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्