काठमाडौँ, ४ असार । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरुलाई सत्तारुढ दलहरुको मुखपत्र बनाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरूको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका हुन् ।
सांसद सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमिसन खाने काम भएको जिकिर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।
उनले भने, ‘सरकारी स्वामित्वको सञ्चार माध्यम गोरखा पत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सरकारी पार्टीको मुखपत्र बनाउनुभएन। खाली सरकारी पार्टीको, मन्त्रीहरुको मात्रै आउने अरू कोही छैन यहाँ ? १३ वटा दल छन संसदमा। अरूको केही सुन्नै नपाउने । सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ? जनताको संस्था हो नि । अर्को, रेडियो नेपालको खुमलटारस्थित ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौँ कमिशन खाने को-को हो? कारबाही हुनुपर्यो ।’







