काठमाडौँ, ४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर-दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन् ।
बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले पूर्व-पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर-दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन् ।
‘‘पूर्व-पश्चिम सडक चाँही अलि पर्याप्त भइसके भन्ने लाग्छ । कम्पिलिट गर्नुपर्ने त छ नै । पूर्व-पश्चिम राजमार्ग छदैछ । त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौं । कुनै सेक्टरमा वल्र्ड बैंकले सहयोग गरेको छ । कुनैमा एडिबीले सहयोग गरेको छ । यसलाई पनि हामीले चार लेन र ६ लेनमा स्तरोन्नति गर्ने । अब भित्री मधेशलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग । त्यो पनि पूर्व-पश्चिम नै थ्रु आउट हुने हो । त्यो भन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छदैछ ।,’’ मन्त्री ज्वालाले भने, ‘‘त्यो पूर्वपश्चिम खुली नै सक्यो । त्यसको बाँकि ठाउँमा स्तरोन्नति गर्नुछ । अनि चार वटा ठूल्ठूला सडकहरु बनिसकेका छन । तयारी भएका छन । भने पछि पूर्व-पश्चिम यातायातको सन्दर्भमा धेरै ठूलो समस्या अव हुन्छ जस्तो लाग्दैन ।’’
मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले पूर्व-पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसावले अघि बढाउने आवश्वासन समेत दिए ।
‘‘१६ औं योजनामा आयोजनाहरुको तय गर्छौं । र, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा पनि उत्तर-दक्षिण सडकहरुलाई बढि प्राथमिकता दिन्छौं । यो चाहीँ तीन वटा करिडोरहरु त छँदैछन् अत्यन्तै महत्तवपूर्ण । त्यसबाहेक पनि जस्तो महाकाली करिडोरको कुरा छ । त्यस्तै सेती राजमार्गको कुरा छ । कर्णाली राजमार्ग छ । राप्ती राजमार्ग छ । यो घुर्मी-कटारी-सोलु राजमार्ग छ ।,’’ मन्त्री ज्वालाले भने, ‘‘यही अरनिको राजमार्गको अवस्था के छ? त्यसकारण उत्तर-दक्षिण राजमार्गहरुलाई हामीले उच्च प्राथमिकता दिएर जानुपर्छ भन्ने कुरामा म पनि सहमत छु । अब हामी त्यतातिर कामलाई केन्द्रित गर्छौं ।’’






