काठमाडौँ, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरेकी हुन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक-पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।
उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन्रु भनी प्रश्नसमेत गरिन् । उनले प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भूमिका हुन नसकेको बताइन् ।
उनले यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अप्ठेरो परेको बताएकी छन् ।
उनले भनिन्, ‘पटक-पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ। सांसदलाई भेट्न पनि मन्त्रीहरुले आनाकानी गर्ने । मन्त्रीहरुले भेट्छन् चाहिँ कसलाई? प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेटन्को लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरुरु राजीनामा दिए हुन्छ ।’





