Logo

सरकार आफैँ आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ: ओली



काठमाडौँ, २५ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले देशमा आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डीएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतङ्ककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको बताएका हुन् ।

आतङ्कारीहरूलाई असामाजिक, अमानवीय, असंवैधानिक, गैरकानुनी क्रियाकलापमा साथ दिन्न भनेर डीएसपी राजन राईले भनेपछि त्यसलाई सहन नसकेर उनी र उनको परिवारलाई ज्यान मार्ने धम्की दिनेहरूलाई सरकारले किन पक्राउ नगरेको भनी प्रश्नसमेत गरेका थिए ।

उनले भने, ‘सरकार आफैँले आतङ्ककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको छ । कसैले सपरिवार मार्छु भनिराखेको छ तर सरकारले त्यस्ता मान्छेहरूलाई नियन्त्रणमा लिँदैन । अस्ति यहाँ खुकुरी हान्ने मान्छेले त माइतीघर मण्डलामा खुकुरी हान्छु भनेकै थियो त । पहिले नै, दुई/चार अगाडि नै खुकुरी हान्छु भनेको थियो । मान्छेहरूको नाम लिएर काट्छु भन्दा सरकार कानमा तेल हालेर बसेको थियो । त्यो प्रवृत्ति उचित होइन । सामाजिक एकता, सामाजिक सद्भावमा आधारित एकता राष्ट्रिय एकता बनाउनुपर्ने हुन्छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरूलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाब आक्रमणविरुद्ध कडा कानुन निर्माण गर्नुपरेको बताए । उनले तेजाब आक्रमणविरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसाविरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरूलाई पनि आग्रह गरेका थिए ।

नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै उनले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यमहरू लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्