पाँचथर, २७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफैँको गल्ती र कुकर्मका कारण ढल्ने दाबी गर्नुभएको छ । पाँचथर जिल्ला कमिटीद्वारा फिदिम बजारमा आयोजित जनसभामा सम्बोधन गर्दै उहाले सरकार ढाल्न आफूहरूलाई कुनै हतारो नरहेको स्पष्ट पार्नुभयो ।
‘यो सरकार आफ्नै कुकर्मको बोझले ढल्नेछ, ढल्छ,’ प्रचण्डले भन्नुभयो, ‘हामी सरकार ढाल्ने हतारोमा छैनौँ, अहिले जनताको पक्षमा उभिएका छौँ ।’
उहाले आगामी निर्वाचनमा आफ्नो पार्टी अरूको सहारामा होइन आफ्नै बलबुतामा अघि बढ्ने दोहोर्याउनुभयो। ‘अब यी बुर्जुवा शक्तिको वैशाखी टेकेर चुनावमा जाँदैनौं, २०६४ सालझैं फेरि आफ्नै तागतमा चुनावमा जानेछौँ,’ प्रचण्ड भन्नुभयो ।
प्रचण्डले पार्टी र आफ्ना विरुद्ध विभिन्न भ्रम फैलाउने प्रयास भइरहेको भन्दै कार्यकर्तालाई सतर्क रहन आग्रह गर्नुभयो ।’कतिपयले अनेक भ्रम छर्न खोजिरहेका छन्, त्यस्ता भ्रममा नपर्नुहोला,’ उनले भन्नुभयो ।
वर्तमान दुई तिहाइ सरकारप्रति कटाक्ष गर्दै उहाले सरकारलाई ‘भिजेको बिरालोससँग तुलना गर्नुभयो। ‘दुई तिहाइ सरकारको हालत भिजेको बिरालोजस्तै भएको छ । राम्रो काम एक पनि गर्न सकेको छैन, केवल गलत काम मात्र भइरहेका छन्,’उहाले भन्नुभयो।