Logo

सरकार उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा छैन: बर्तौला



काठमाडौँ, १५ साउन । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको बताएका छन् ।

सोमवार संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै एमाले सचेतक बर्तौलाले सरकारमै रहेका उच्च व्यक्तित्वहरु पर्ने डरले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा नरहेको आरोप लगाएका हुन् ।

उनले देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्नेमा अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्न लागिरहेको बताए । उनले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्र तस्करी गर्ने गतिविधिमा सरकारको प्रत्यक्ष सहभागिता रहेको आरोप लगाएका हुन् ।

‘सुन तस्करी प्रकरणमा सरकार पक्षको र सरकार निर्माण गर्ने मूर्धन्य नेताहरुको प्रत्यक्ष संलग्नतामा यी घटनाहरु भएका छन् । एक पछि अर्को तथ्यले प्रमाणहरुलाई स्वीकार्दै गएको देखिन्छ । देश निर्माणको नेतृत्व गर्ने सरकार समृद्धिको प्रत्याभूति गर्नुपर्ने सरकार अनेकौ सेटिङ गरेर देशलाई बदनाम गर्ने स्थितिको विकास गरिरहेको छ‚’ सचेतक बर्तौलाले भने, ‘नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउने, चीनतर्फबाट क्विन्टलका क्विन्टल सुन नेपाल भित्र्याउने र अन्यत्र तस्करी गर्ने यहाँबाट जे खालको गतिविधि सरकारको प्रत्यक्ष सहभागितामा भइरहेको छ ।’

छानबिन समिति गठन गर्न सरकार तयार नभएकै कारण एमालेले संसद अवरुद्ध गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्