नवरपरासी, १७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् ।
जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी कांग्रेसले नबोक्ने उनले बताएका हुन् ।
नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तक्रियामा नेता महरले भने “सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । कांग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।”
वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गरेका छन् । कांग्रेस जनताको पार्टी भएकाले जनभावनाविपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो । “कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ”, उनले भने ।







