Logo

सरकार कर्मचारीको पक्षमा छ: ऊर्जामन्त्री



काठमाडौँ, ११ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छन् ।

कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिएकी हुन् ।

राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेकी मन्त्री भुसालले भनिन, “सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड-१९ ले अर्थतन्त्रमा पु¥याएको असर र रुस-युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।” उनले कर्मचारीमैत्री सङ्घीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् ।

कोभिड-१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्यकर्मीहरुले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन्, “यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्