Logo

सरकार–प्रसाईं संवाद अघि बढ्यो, मन्त्री खरेलको संयोजकत्वमा वार्ता समिति



काठमाडौं, २८ मंसिर । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग औपचारिक वार्ता अघि बढाउन सरकारले विशेष समिति गठन गरेको छ। महाअभियानका मागमाथि सहजीकरण र समाधान खोज्ने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको हो।

समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्यका रूपमा रहेका छन्। सरकारले वार्ता समिति गठन भएको जानकारी महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई औपचारिक पत्रमार्फत जानकारी गराएको छ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा पठाइएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि तोक्न अनुरोध गरिएको छ।

यसअघि मंसिर २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र प्रसाईंबीच प्रारम्भिक छलफल भएको थियो। सो छलफलमा प्रसाईंले उठाएका मागहरूबारे विस्तृत संवादका लागि पुस २ गते पुनः बैठक बस्ने सहमति भएको थियो। उक्त बैठकअघि नै सरकारले वार्ता प्रक्रिया सहज बनाउन समिति गठन गरेको हो।

सरकार र महाअभियानबीचको यो संवादले पछिल्ला समयदेखि उठ्दै आएका मागहरू समाधानतर्फ लैजाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्