झापा, २३ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९)को नियन्त्रणका लागि सरकारले गरेको लकडाउन आज ७४ औं दिन पुगेको छ ।
सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समितिलाई लकडाउन खुकुलो बनाउने मोडालिटी तयार गर्न निर्देशन दिएको छ । उच्च स्तरीय समितिले मोडालिटी तयार गर्न नपाई उद्योगी, व्यावसायी र सर्वसाधारण नागरिकले लकडाउन खोल्न दबाब दिन थालेका छन् ।
सरकारले बैंक, कृषि, उद्योग, खाद्यान्न लगायतका अत्यावश्यक सेवा संचालन गर्न अनुमति दिएको छ । अन्य क्षेत्रको व्यावसाय भने बन्द रहेका छन् । उद्योग तथा व्यावसायिक संघ संगठनले पनि बजार खोल्न दबाब दिइरहेका छन् । काठमाडौँ, झापा लगायतका क्षेत्रका उद्योगी व्यावसायीले बजार खोल्न सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
सरकारले खोल्न अनुमति दिएका र अन्य व्यावसाय पनि छिटफुट रुपमा खुल्न थालेसँगै चलहपहल बढ्न थालेको छ । मुख्य बजारमा मानिसको भीड बढेको छ ।
लगातारको लकडाउनले उद्योग, व्यापार लगायतका कारोबार र आर्थिक क्रियाकलाप ठप्प छन् भने दैनिक जीवन कष्टकर बनेको छ । संक्रमण फैलिएपनि जनजीवन र आर्थिक कारोबार ठप्प भएपछि सरकारले लकडाउन खुकोलो नबनाएपनि नागरिकले बिस्तारै व्यापार व्यावसाय सुरु गर्न थालेका छन् ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत जेठ ३२ गतेसम्म देशभर लकडाउन घोषणा गरेको छ । तर, बजारमा मानिसको भिडभाडले लकडाउन हटिसकेको हो कि भन्ने भान हुन थालेको छ ।
लकडाउन केही खुकुलो भएसँगै झापामा जोरबिजोर प्रणलिबाट मुख्य बजार क्षेत्रका पसल खुल्न थालेका छन् भने मजदुरहरू समेत बिस्तारै काममा फर्किन थालेका छन् । लकडाउनमा विकास निर्माणका कामहरु पनि सञ्चालन भइरहेका छन् ।
सडकमा मानिसको चहल पहल बढ्न थालेको छ । सवारी साधन चलाउन छुट नभए पनि दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीहरू गुडिरहेका छन् । जसका कारण बजारमा मानिसहरूको भिड बढेको छ ।
फोटो फिचर-बिर्तामोड