Logo

सरकार र जनताका बीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ: सञ्चारमन्त्री



काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीको हकहित, सुरक्षा तथा पत्रकारिताको समग्र उन्ननयका लागि सञ्चारकर्मीको पेशागत सङ्घसंस्थासँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो र सुदृढ बनाउनुपर्छ भने । उनले भने, “सरकार र जनताकाबीचमा प्रेसले पुलका रुपमा काम गर्नुपर्छ । जनताको आर्थिक र सामाजिक रुपान्तरण गर्नुपर्छ ।”

उनले आर्थिक समृद्धि हासिल गर्न सरकारले आर्थिक ‘प्याकेज’ र पूर्वाधारको योजना नीति तथा कार्यक्रममार्फत कार्यान्वयन गरिराखेको बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकता वितरण लाई सहजीकरण गर्न सरकारले प्रतिनिधिसभामा नयाँ नागरिक विधेयक दर्ता गरेको जानकारी दिए ।

भोलि साउन ७ गतेसम्म सञ्चालन हुने युनियनको राष्ट्रिय महाधिवेशनबाट प्रेस युनियनको नयाँ नेतृत्वको निर्वाचन हुने र आजै अपराह्नमा महाधिवेशनमा सहभागी प्रतिनिधिले बन्दसत्रमा युनियनको प्रतिवेदन, वार्षिक कार्यक्रम र उम्मेदवारको मनोनयन दर्तासम्बन्धी प्रक्रिया सुरु गरिने युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीले जानकारी दिए । महाधिवेशनमा सातवटै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ९०० मतदाता सहभागी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्