Logo

‘सरकार हाम्राे विरुद्धमा लाग्याे, औषधि पनि ल्याउन दिएन’



काठमाडौँ, २ असोज । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकी छोरी सुनिधिले आफ्नो परिवारको जीवन रक्षाका लागि पहल गरिदिन नेपाली नागरिकसँग आग्रह गरेकी छन् ।

जबराकी छोरी सुनिधिले आफूहरूको परिवारलाई सरकारले नजरबन्दमा राखेर अत्याचार गरेको भन्दै बाँच्न पाउने अधिकार सुरक्षित गर्न पनि नेपाली नागरिकले साथ दिनुपर्ने बताइन् ।

आइतवार दिउँसो बालुवाटारमा रहेको प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली नागरिकको साथ चाहिएको बताइन् ।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन पनि नेपाली नागरिकबाट ठूलो भरोसा लिएको उनको भनाइ छ । उनले भावविह्वल हुँदै स्कुलमा रहेको बच्चा ल्याउन नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको भन्दै दुःखेसो गरेकी थिइन् ।

उनले भन्नि, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चा लिन स्कुल जानुपर्छ । एउटाले बच्चा लिएर आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्‍यो नि । एकदमै अराजकताको पनि पराकाष्ठा भएको छ । यो कुरा नेपाली जनताले बुझिदिनुपर्‍यो । हामी यही टेलिभिजनबाट, मिडियाबाट आह्वान गर्न चाहन्छौँ-सब जनालाई एकदमै देशको माया छ, यो अदालतको माया छ भने उठेर आइ दिनुपर्‍यो । हामीहरूलाई नजरबन्दमै राखिएको छ । सन्चो छैन, औषधि लिन जानुपर्‍यो । काम गर्ने मानिस बाहिर हिँडिराखेको बेलामा उनीहरूलाई समातेर लगेर थुनिराखेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हातखुट्टा नै बाँधी राखेको अवस्था छ । यस्तो बेलामा हामी के गर्न सक्छौँ रु हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनतासँग हो । जनताले के सही हो, के गलत हो छुट्टयाएर, बुझेर आइ दिनुपर्‍यो ।’

सुनिधिका अनुसार स्कुलमा बच्चा लिन गएकी सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । यसैबीच निलम्बित प्रधानन्यायाधीश जबरा अस्वस्थ भएको बुझिएको छ । छोरी सुनिधिका अनुसार उनलाई सन्चो नभएको हो । प्रहरीले जबराको उपचारका लागि औषधि ल्याउनसमेत नदिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्