मेचीनगर, २० जेठ । चारआली जेसिजले सर्पदंशसम्बन्धि जनचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
अरिदनम गण चारआली ब्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिका वडा नं.१३ शान्ति चौतारीमा भएको कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
चारआली जेसिजका अध्यक्ष संगित शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अरिदनम गण चारआली ब्यारेकका सह-सेनानी अविनाश कार्की रहेका थिए ।
उक्त कार्यक्रमको सहजीकरण कार्यक्रमका प्रमुख अतिथि अरिदनम गण चारआली ब्यारेकका सह-सेनानी अविनाश कार्कीले गरेका थिए ।
कार्कीले सर्पको टोकाईपछिको प्राथमिक उपचार तथा सर्पको टोकाइबाट बच्ने उपाय लगायतका बारेमा सहभागिलाई अवगत गराएका थिए ।
सो कार्यक्रममा नेपाल जेसिज वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष बिरबहादुर बेघा, चारआली जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, वर्ष २०१७ का अध्यक्ष धनबहादुर तामाङ, वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, शान्ति प्राविका व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन पौडेल, पूर्वी कृषि सहकारीका अध्यक्ष बद्री भट्टराई लगायतको आतिथ्य रहेको थियो ।
कानुनी सल्लाहकार सुजुप सुवेदीले आस्था वाचन गरेका थिए भने कार्यक्रम संयोजक सन्देश न्यौपानेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बिवेक सुन्दासले गरेका थिए ।







