काठमाडौँ, ३ साउन । नुवाकोटको ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ ।
सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै गाउँपालिकाले काठमाडौँबाट बञ्चरेडाँडा जाने फोहोरका गाडीसँग प्रवेश शुल्क नउठाउने निर्णय गरेको हो ।
फोहोर बोकेका ट्रकबाट प्रवेश शुल्क उठाउने निर्णयविरूद्ध ककनी गाउँपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संघीय मामिला, वन तथा वातावरण र सहरी विकास मन्त्रालयलाई विपक्षी बनाइ हालेको रिटमा सोमवार न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेश दिएको थियो ।
ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरे पनि आन्दोलन भने चलिरहेको छ । आन्दोलनका कारण काठमाडौँ उपत्यकाको फोहोर बोकेका गाडी दुई दिनदेखि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् । फोहोरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका हुन् ।
बञ्चरेडाँडाको फोहोरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण, प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका उनीहरुको माग छ । माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने स्थानीयबासिन्दाले बताएका छन् ।
यसैबीच, सरकारले आज आन्दोलनमा रहेकाहरुसँग छलफल गर्ने तयारी गरेको छ । समय भने तय हुन बाँकी छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सीमानामा पर्छ । काठमाडौँ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहोर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।







