Logo

सर्वोच्चमा सुशासन कायम गर्छु: श्रेष्ठ



काठमाडौँ, ११ भदौ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् ।

सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् ।

उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । उनले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने बताएका हुन् ।

स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उनले बताए । उनले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताएका छन् ।

उनले भने ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडी बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो । तारेखसम्म सुधार गर्‍यौँ हामीले । अब सायद हाम्रो कर्मचारी साथीहरुले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ ।’

उनले स्वचालित पेशी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताए । भित्रैको जनशक्तिले सफ्टवेयर निर्माण गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्